सिमकोट – काठमाडौँमा आगामी कार्तिक ४ गतेबाट हुने उपमेयर कप महिला फुटबल प्रतियोगितामा हुम्लाका खेलाडी सहभागी हुने निश्चित भएको छ। राष्ट्रिय महिला फुटबलामा हुम्लाका खेलाडीले पहिलोपटक सहभागिता जनाउने भएको हो।
यहाँका खेलाडीहरुको मागअनुसार प्रतियोगितामा सहभागिता जनाउन एन्फामा टीमसमेत दर्ता गरिएको छ। खेलाडी सपुरा रोकायाले पहिलोपटक हुम्लाबाट उपमेयर कप फुटबलमा सहभागिता जनाउन लागिएको बताइन्।
पुरुषहरुले समेत राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता नजनाइरहेको बेला महिलाहरु सहभागी हुन लागेको उनको भनाइ छ।
हुम्ला फुटबल एकेडेमीको समन्वयमा उक्त प्रतियोगितामा सहभागिता जनाउन अहिले सिमकोटस्थित खेल मैदानमा २३ जना खेलाडीहरुलाई प्रशिक्षण लिइरहेका छन्। असोज १ गते खेलाडीहरुको अन्तिम छनोट हुने एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए।
उनका अनुसार प्रशिक्षणमा जिल्लाभरका महिला खेलाडीहरुको सहभागिता रहेको छ।
एकेडेमीले खेलाडी तयार गर्ने र त्यसको आर्थिक व्यवस्थापन सिमकोट गाउँपालिकाले गर्ने समझदारी भएको अध्यक्ष रावतले बताए।
सडक यातायातमा नजोडिएको कारण हवाई मार्गबाट आउजाउ गर्नपर्ने भएको कारण प्रतियोगिताको सहभागिता भने महंगो हुने उनको भनाइ छ।