भदौ ३१, २०७८ बिहिबार

टाइम म्यागजिनले प्रकाशित गर्ने वर्षका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेतृत्वतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबानका नेता मुल्लाह अब्दुल गनी बरादरसम्म परेका छन्।

टाइम म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीको नेतृत्व विधामा विश्व व्यापार संगठनकी महानिर्देशक एनगोजी ओकोन्जो इवेला, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी सांसद लिज चेनी, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, इटालीका प्रधानमन्त्री मारिओ द्राघी, अमेरिकी टेलिभिजनकर्मी टकर कार्ल्सन, अमेरिकी नेतृ स्टेसी अब्राहम, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसहित सूचीकृत छन्। सूचीमा तालिबान नेता तथा अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्री बरादर पनि परेका हुन्।

टाइम म्यागजिनले आइकन, पायोनियर्स, टाइटन्स, कलाकार, नेतृत्वकर्ता, अन्वेषकसहितको विधामा कुल १०० प्रभावशाली व्यक्तिको सूची प्रकाशित गरेको हो।