असोज २८, २०८२ मंगलबार

जुम्ला, २८ असोजः जुम्लामा पछिल्लो समयमा धान कुट्ने ओखल हराउँदै गएका छन् । अहिले अधिकांश क्षेत्रमा मिल स्थापना भएपछि जिल्लाका प्रायः गाउँबस्तीमा परम्परागत ओखल लोप हुँदै गएका हुन् ।

    ओखल, ढिकीमात्र हैन जाँतो पनि गाउँघरमा विरलै रूपमा पाइने गरेको तिला गाउँपालिका–४ का स्थानीय राजकन्या सार्कीले बताउनुभयो । “पहिला नौ गाउँका स्थानीयका लागि नौ वटा धान कुट्ने ओखल नुवाकोटमा थियो । अहिले गाउँका स्थानीयले मात्र ओखलमा धान कुट्ने गर्छन् । अरु गाउँका कोही पनि आउँदैन”, उहाँले भन्नुभयो । 

    सार्कीले आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको बताउनुभयो । “पहिला ओखलमा कुट्ने गरिन्थ्यो, अहिले मिलमा लैजान्छौँ । समयको पनि बचत हुने भएकाले मिलमा धान कुट्नेको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो । 

    हाल कुटानी–पिसानीका ठाउँठाउँमा मिल सञ्चालनमा आएसँगै ओखल देख्नै मुस्किल हुन थालेको छ । ओखलमा धान कुट्दा श्रम गर्नुपर्ने बढी लाग्नुका साथै समय र खर्च पनि बढी लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तिला–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताउनुभयो । 

    कुनै समय जिल्लामा धान कुट्न प्रयोग गरिँदै आइएको टिक्के ओखल हराउँदै गएपनि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएपछि यहाँका ग्रामीण गाउँबस्तीमा ओखल हराउँदै गएको यहाँका स्थानीयवासी बताउँछन् । 

    ओखलमा धान कुट्दा समय र खर्च बढी लाग्नुका साथै मेहनत पनि बढी गर्नुपर्ने भएकाले मानिसले सजिलो खोज्न थालेपछि ओखल हराउँदै गएको सार्कीको भनाइ छ ।