एजेन्सी : सर्वाधिक २० औं पटकको इंग्लिस प्रिमियर लिग विजेता म्यान्चेस्टर युनाइटेडले जारी सिजन शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई घरेलु मैदानमै पराजित गरेको छ ।
आइतबार राति भएको म्यानचेस्टर ड्रर्बीमा सिटी म्यानचेस्टर युनाईटेडसँग २-० गोल अन्तरले पराजित भएको हो । सिटीको मैदानमा पाहुना टोली युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै युनाईटेडले फर्नान्डेसको पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थियो । सिटीका ग्राबियल जिससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाईटेडले पेनाल्टी पाएको थियो ।
त्यस्तै दोस्रो हाफको खेलको ५० औं मिनेटमा लुक शले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
उक्त जितसँगै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । २८ खेलमा ५४ अंक जोडेको छ । यता पराजित सिटीको २१ खेलको अपराजित यात्रा टुंगिएको छ । सिटी २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।