असोज २८, २०८२ मंगलबार

भद्रपुर (झापा), २८ असोजः यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् । 

    जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारीवर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो । बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी केन्द्रले सङ्कलन गरेको विवरणअनुसार गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २, शिवसताक्षी नगरपालिकाको वडा नं ३, ४, ५ र ७, भद्रपुर नगरपालिकाको वडा नं ३, गौरादह नगरपालिकाको वडा नं ५ र ६ तथा कनकाई नगरपालिकाको वडा नं १, ३, ५, ६ र ८ का क्षेत्रहरूमा बाढीका कारण कृषिबालीमा क्षति पुगेको छ ।

    केन्द्रका प्रमुख विष्टका अनुसार बाढीले सबैभन्दा बढी धानखेतीमा असर पारेको छ । झापाका ७०३ कृषकले ४६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा लगाएका धानबाली क्षति पुगेको बताउँदै उहाँले क्षति पुगेका अन्य बालीहरूमा तरकारी, आलु, केरा, जुट, मास र भुइँकटहरलगायत रहेका उल्लेख गर्नुभयो ।

    यसैबीच, बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा राहत वितरण सुरु गरिएको विष्टले जानकारी दिनुभयो ।