कैलाली, ३ कात्तिकः कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छाँै ।”
यहाँका अधिकांश किसानहरु हिजोआज खेतबारीमै व्यस्त देखिन्छन । खेतमा धान काट्दै गरेका सोही ठाउँका अर्का किसान सुकराम चौधरीले खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताउनुभयो । चाडपर्व नजिकिएकाले धान भित्र्याउनका लागि यहाँका किसानलाई अझै भ्याइनभ्याइ भएको उहाँको भनाइ छ ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानहरु यतिबेला आधुनिक उपकरणहरु प्रयोग गरी धान भित्र्याउन लागि परेका छन् ।
किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् ।
नेपालीको महान चाड शुभ दिपावली सुरु भइसकेको छ । तै पनि यहाँका कतिपय किसानहरु धानबाली भित्र्याउन जुटेको पाइन्छन् ।
थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइ सकेका छन् । किसानहरुका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जातहरु बढी मात्रामा देखिन्छन् ।