असोज १, २०७८ शुक्रबार

आश्विन १, २०७८, काठमाडौँ — म्यान्मारमा निर्मित १ हजार ८ सय केजी तौल भएको करीब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा राखिने भएको छ । स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले फाउन्डेसनलाई २ करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको थियो ।


नेपाल सरकारसँग समन्वय गरेर मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

म्यान्मारबाट हङकङ–कोलकाता हुँदै नेपाल आउने क्रममा रहेको उक्त मूर्ति ल्याउन ‘ट्रान्स्पोर्टेसन चार्ज’ १२ हजार अमेरिकी डलर लागेको फाउन्डेसनले जनाएको छ ।

मूर्ति ल्याउँदा लाग्ने भन्सार शुल्क भने सरकारले छुट दिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । यसमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ धातुको हालको अन्तरराष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर पर्छ ।