ओमानको अमिरत रंगशालामा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ।
नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका उनले १०५ बल खेलेर ५५ रन जोडे। त्यसक्रममा उनले ३ चौका हिर्काए।
ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके। कुशलले ४३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।
रोहित पौडेल २ रनमै पेभिलियन फर्के। विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए।
डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।
कुशल मल्ल भने शून्यमै आउट भए। यसअघिका चार खेलमा कुशलले तीन खेलमा एक रन र एक खेलमा चार रन मात्र जोड्न सकेका थिए।
सोमपाल कामी २ रनमा आउट हुँदा करण केसीले ११ बलमा २ चौका हिर्काउँदै १२ रन जोडे। सन्दीप लामिछाने १२ बल खेलेर ११ रनमा आउट भए।
बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले ४ विकेट लिए। केल फिलिप्सले ३ विकेट हात पारे।