काठमाडौँ, असोज २ गते । गतवर्ष असोज २ गते कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा आइपुगेका दुइवटा रेललाई ठूलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आमनागरिकमा ठूलो आशा पलाएको थियो तर रेल आएको ठीक एक वर्ष पुग्दा पनि त्यो रेल चल्ने छाँटकाँट देखिएको छैन ।
इनरुवा स्टेसनमा दुईवटा रेल एक वर्षदेखि पार्किङ गरिएको अवस्थामा थन्किएका छन् । सञ्चालनमा नआउँदै दुईवटै रेलको ‘वारेन्टी’ अवधिसमेत समाप्त भइसकेको छ । दुईवटै रेलमा निर्माण कम्पनीले एक वर्षको ‘वारेन्टी’ दिएको थियो । त्यसैगरी रेल छोपिएको त्रिपाल चिराचिरा भइसकेका छन् । एक वर्षदेखि घाम पानी सहँदै आएको रेल जीर्ण बन्दै गएका छन् ।
रेल विभागका महानिर्देशक दीपक भट्टराईले प्राविधिक र कानुनी काम पूरा गर्न बाँकी रहेका कारण जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेको बताए । यसैबीच नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले सो रेल सेवा सञ्चालनका लागि बाँकी रहेका कानुनी र प्राविधिक काम अगाडि बढाइसकिएको बताउँदै यसै वर्षको मङ्सिर विवाह पञ्चमीबाट रेल सञ्चालनमा आउने दाबी गरे ।