असोज ३, २०७८ आइतबार

पोखरा : ए डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताको पहिलो दिन स्पोर्टस क्यास्टल पोखरा र प्रदेश १ को द राइजिङ क्लबले विजयी सुरुवात गरेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र टर्नपाइक इभेन्टको व्यवस्थापनमा पहिलोपल्ट पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा द राइजिङ क्लबले मछेन्द्र स्काइ गोललाई ५—४ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। 

प्रतिस्पर्धात्मक खेलमा राइजिङका तर्फबाट रेवस मास्केले दुई गोल गरे भने मिलन लिम्बू, दोर्जे तामाङ, सुदिप गुरुङले एक एक गोलको योगदान गरे। यसै गरी मछेन्द्र स्कइ गोलका तर्फबाट श्रीकृष्ण श्रेष्ठले तीन गोल गरेका थिए भने आशिष सुनामले एक गोलको योगदान दिए। 

स्पोट्स क्यास्टल पोखरा र प्रभातफेरीयुथ क्लबबीच भएको खेलमा पोखराले एकतर्फी खेल प्रदर्शन गर्दै ७—० गोल अन्तरले जित निकाल्यो। खेलमा पोखराका सुमित श्रेष्ठ र खेमराज गुरुङले दुई दुई गोलको योगदान दिए। यस्तै खेलमा विजय गुरुङ, दिपेश घले र किशोर गुरुङले एक एक गोलको योगदान दिएका थिए। 

ए डिभिजन मान्यता पाएका १० टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ। गतवर्षको चैतदेखि यस वर्षको जेठसम्म प्रदेशस्तरीय छनोट खेलमा सहभागी ५१ टिममध्ये १० टिमले ए डिभिजनको मान्यता पाएका थिए। कोभिडका कारण दुईपल्टसम्म खेल सरेर शनिबारदेखि खेल सुरु भएको हो। 

ए डिभिजन राष्ट्रिय फुटसल लिगमा क्षेत्रिय छनोटबाट आएका १० टोलीले राउन्ड रोबिन प्रणालीका आधारमा प्रतिस्पर्धा गर्नेछन्। शीर्ष चार टोलीबीच क्यालिफायर र इलिमिनेटरका आधारमा फाइनल खेल हुने छ। लिग अवधिभर कुल ४९ म्याच हुनेछन्। सबै खेल ४० मिनेटको हुनेछ। लिग विजेताले १० लाख रुपौयाँ र उपविजेताले पाँच लाख रुपौयाँ पाउने छन्।