संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा भनिएको छ, ‘स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान वा निकायमै रहने व्यवस्था मिलाउन लेखी आएको हुँदा सोबमोजिम उल्लिखित कर्मचारीहरूको सरुवा/काजसम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको बेहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
राष्ट्रिय जनगणना यही भदौ ३० बाट सुरु भएको हो । राष्ट्रिय योजना आयोगले असोज १ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीहरूलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान/निकायमै रहने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
जनगणनाको मुख्य गणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुनेछ ।