ओमानमा जारी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा अहिले नेपाल र घरेलु टोली भिडिरहेका छन्।
टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ओमानले १४ ओभरमा ६ विकेट गुमाएर ४३ रन जोडेको छ। करन केसी र सन्दीप लामिछानेले तीन तीन विकेट लिएका छन्। प्रारम्भिक ब्याट्सम्यान जतिन्दर सिंह १३ रनमा आउट भए। उनले नेपालविरुद्धको पहिलो खेलमा एक सय ७ रन जोडेका थिए।
यसपटक ओमानले १८ रन जोड्दा जतिन्दरलाई करन केसीले आउट गरे। ओमानले ३० रन जोड्दा करनले अर्का ओपनर सुफ्यान मेहमुदलाई व्यक्तिगत ४ रनमा आउट गरे। सोही स्थितीमा उनले आयान खानलाई पनि व्यक्तिगत एक रनमा आउट गरेका थिए। सन्दीपले आफ्नो सुरुका २ ओभरमा ३ विकेट लिएका हुन्। १३ औँ ओभरमा उनले लगातार २ विकेट लिएका थिए।