असोज ३, २०७८ आइतबार

काठमाडौँ ।  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले हराएको हो ।

१२२ रनको लक्ष्य नेपालले १९ औँ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ५२ रन बनाए । आशिफ शेखले ४० रनको योगदान गरे ।

नेपालले एकदिवसीय क्रिकेटमा ओमानलाई हराएको यो पहिलो पटक हो । यहि शृङ्खलाको यसअघिको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।

कुशल मल्ल  र रोहित पौडेल छ/छ रनमा आउट भए  । टिमको स्कोर १६ रन हुँदा कुशल आउट भए पनि ओपनर आसिफ र कप्तान ज्ञानेन्द्रले  दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै जीतको आधार तयार पारे ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै ओमानलाई १२१ रनमा अलआउट गराएको थियो । नेपालका करण केसी र सन्दीप लामिछानेले चार चार तथा शरद भेषवाकरले दुई विकेट लिएपछि ओमान ३८ औँ ओभरमै अलआउट भयो ।

ओपनिङ् बलर करणले शुरुदेखि नै विकेट लिन थालेपछि ओमान दबाबमा परेको थियो ।

करणले ८ ओभर बलिङ गर्दै २५ रन दिए । यस्तै ८ ‌ओभर १ बल बलिङ गरेका सन्दीपले १९ रन मात्र खर्चिए । शरदले ६ ओभरमा १९ रन दिए ।

१८ रन बनाउँदा पहिलो विकेट गुमाएको ओमानले ३० रन हुँदा दोस्रो र तेस्रो विकेट गुमाएको थियो । त्यस्तै ३७, ४३, ६४, ८६, १०६ र १२१ रनमा विकेट गुमाएको थियो । ओमानका सात खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओमानका कप्तान जिसन मक्सूदले बनाएको ४१ रन सर्बाधिक रह्यो ।

प्रतियोगिताका चारमध्ये नेपालले दुई खेल जितेको हो । आजको खेल प्रशिक्षक डेभ ह्वाटमोरको अन्तिम खेल समेत हो ।