असोज ४, २०७८ सोमबार

क्यानडामा सोमबार मध्यावधि चुनाव हुँदै छ । यस चुनावबाट ४९ वर्षीय जस्टिन ट्रुडो तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दौडमा छन्। तर उनलाई  विपक्षी दलका प्रतिष्पर्धीले कडा टक्कर दिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेका थिए ।

सन् २०१९ मा संसद्को तल्लो सदन हाउस अफ कमन्सका लागि भएको चुनावमा  ट्रुडोको लिबरल पार्टी केही सिटले मात्रै सबैभन्दा ठूलो दल बनेको थियो। ३३८ सिटमध्ये उनको दलले १५५ सिट हात पारेको थियो भने कन्जरभेटिभ पार्टीले ११९ सिट ल्याएको थियो। बहुमतका लागि १७० सिट आवश्यक हुन्छ। दुई वर्ष अल्पमतको सरकार चलाएका ट्रुडोले मध्यावधि चुनाव घोषणा गरेका हुन्।

बिबिसीका अनुसार पछिल्लो समय गरिएका सर्वेक्षणहरूले पनि उनको  पार्टीको पक्षमा जनमत रहेको देखाएका थिए।

चुनावी अभियानका क्रममा कन्जरभेटिभ पार्टीका एरिन ओटुलले ट्रुडोलाई कडा टक्कर दिएका छन् भने न्यु डेमोक्रेटिक पार्टीका जगमित सिंह पनि प्रतिष्पर्धी बनेर आएका छन्।

क्यानडामा झन्डै २ करोड ७० लाख मतदाता छन्। आज बुथमा गएर मतदान गर्न सकिनेछ भने हुलाकबाट भोट पठाउने प्रक्रिया यसअघि नै सुरू भइसकेको छ।