असोज ६, २०७८ बुधबार

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो। साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन्।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछन्।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।