असोज ६, २०७८ बुधबार

डा. केदार कार्की

रेविज के हो ?

रेविज भाइरसबाट हुने खतरनाक रोग हो । विश्वमा  ५०,०००  मानिसको प्रतिवर्ष  मृत्यु  यस  रोगबाट  हुन्छ भने हजारौं  पशु  प्रभावित हुन्छन् ।

जुनसुकै जनावरलाई यो रोग लाग्न सक्छ ?

फ्याउरा, चमेरो, कुकुर , बिरालो, गाई  भैंसी, मानिस । यदि कुनै मानिस वा पशुलाइ रेविज भएमा मृत्यु  हुन्छ ।

रेविज कसरी  लाग्छ?
रेविज भएका पशुले टोकेमा, चिथोरेमा । तिनको र्‍यालमा भाइरस हुन्छ ।

रेविजबाट कसरी बिरामी परिन्छ ?
रेविज  भाइरस  शरीरमा  पुुगेपछि  स्नायु  तन्तुमा विचरण गर्छ । मुख्य रूपमा मस्तिष्कलाई असर गर्छ ।

जनावरले रेविज सार्छन् ?

चमेरो, फयाउरो, लोर्खके, सुगुर, बिरालो , भुस्याहा कुकुर, या खोप नलगाएर पालेको कुकरले सार्न सक्छन् ।

मानिसमा  रेविज  रोगका  लक्षणहरू

मानिसको शरिरको रेविजको भाइरस प्रवेश गरेपछि रोग देखा पर्न ३० देखि ६० दिन लाग्छ तर कम्तीमा १० दिनमै वा वर्षौँपछि पनि देखा पर्न सक्छ । प्राय: मानिसमा टोकेको ठाउँमा दुख्ने, झम्झमाउने, एक्कासी चिलाउने जस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु, शरीरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण बिरामीमा देखिन सक्छ । क्रमशः बिरामीमा दिग्भ्रमित हुने, बाझिने, विनाकारण काम्ने, बेसुर हुने लक्षण देखिन सक्छ । रेविजको पूर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकुरा निल्न नसक्ने, मांशपेशीहरूमा नियमित, अनियमित रूपमा खुम्चने र कम्पन हुने र बिरामीलाई पानिसम्म निल्न गाह्रो हुन्छ । त्यस्ता बिरामीका नजिक पानी राख्दा तर्सने गर्दछ । त्यसैले पनि यसलाई हाईड्रोफोविया (पानीबाट तर्सने रोग) पनि भन्ने गरिन्छ भने बिरामीको अगाडि पानी देखाउँदा रेविज एकीन गर्न सजिलो हुन्छ । त्यस्तै गरी हावा सुघाउँदा पनि डाराउने गर्दछ । त्यो अवस्थालाई एरोफोविया भनिन्छ । यस अवस्थामा पुगेको बिरामी प्रायः बाँच्दैनन् । 

जनावरमा रेविज रोगका लक्षणहरू

रेविज रोग ग्रसित जनावरहरू बिरामी परेको जस्तो देखिनुका साथै रिसाहा, झोक्रिने, झम्टिने, जे पायो त्यो टोक्ने स्वाभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यस रोगलाई सामान्य बोलचालको भाषामा बहुलाहा कुकुर भनिएको हो । यसबाहेक कुनै कुनै रोगबाट ग्रसित जनावर एकदमै मैत्री स्वभाव लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ । प्रायः रात्रीकालीन समयमा विचरण गर्ने जङ्गली जनावर दिउँसै बस्तीमा भौतारिन थाल्यो भने जस्तै स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाय वा अतिनै मैत्री स्वभाव देखाएको पाइएमा त्यस्ता जनावरलाई रेविज रोग ग्रसित हुन सक्ने शंका गर्नु पर्छ ।

रेविज हो हैन भनेर कसरी थाहा हुन्छ  ?

प्रयोगशालामा मस्तिष्कको तन्तु जाँचपछि  मात्र  थाहा  हुन्छ ।

रेविजबाट बच्न सकिन्छ ?
आफूले पालेका कुकुर बिरालालाई नियमित रेविजविरुद्धको खोप लगाउने । कुकुर सधैँ बाँधेर राख्ने । वरिपरी जङ्गली भुस्याहा जनावर अनौठो व्यवहार गरेको देखे मानिसलाई खबर गर्ने । कुकुरलाई अरू जनाबरले टोकेमा भेटेरीनरी डाक्टरलाइ देखाउने । कुकुरको परिवार नियोजन बन्ध्याकरण गराउने । चोटपटक लागेको कुकुर देखिएमा खबर गर्ने ।

-- डा. केदार कार्की, सेवा निवृत्त वरिष्ठ पशु चिकित्सक/भेटेनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर