असोज ६, २०७८ बुधबार

नेपाली क्रिकेटमा सर्वाधिक लोकप्रिय खेलाडी पारस खड्काले एकाएक इपिएल नखेल्ने निर्णय गरेका छन् । खड्काले इपिएल नखेल्नुका पछाडि पारस र विराटनगरको असमझदारी नभई यस प्रतियोगिताका सञ्चालक तथा संस्थापक आमिर अख्तरसँगको सम्बन्धलाई मुख्य रूपमा हेरिएको छ ।

विशेष गरेर पोखरा प्रिमियर लिगको आयोजनासँगै अख्तर असन्तुष्ट रहँदै आएका थिए । किनभने पोखरा प्रिमियर लिगमा छुम्बी लामा संलग्नता थियो । उनलाई पारस र कप्तान ज्ञानेन्द्र मल्लको सहयोग थियो । अख्तरको आरोप खेलाडी आफैँ ‘बिजनेश’मा लागेको र यसले अन्य फ्रेन्चाइजमा असर गर्न सक्छ भन्ने थियो । तर उनले असन्तुष्टि सार्वजनिक भने गरेका थिएनन् ।

तर गत साउनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामासहित पारस खड्का तथा कप्तान ज्ञानेन्द्र मल्ल एक छलफलमा सहभागी भए । ‘बलियो नेपाल’ नामक अभियानले ‘क्लब हाउस’मा नेपाल सन् २०३९ सम्ममा क्रिकेट विश्वविजेता बन्न सक्छ ? भन्ने विषयमा छलफल चलाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र, पूर्वकप्तान पारस, पूर्वक्रिकेटर शक्ति गौचन, महिला टिमकी कप्तान रूबिना क्षेत्री र क्यानका केन्द्रीय सदस्य छुम्बी लामा सहभागी हुने तय भयो ।

अख्तरको आपत्ति यसमै थियो । उनले क्यानलाई ईमेल लेख्दै बोर्ड सदस्य र राष्ट्रिय क्रिकेटरको स्वार्थ बाझिएको गम्भीर आरोप लगाए । उनले राष्ट्रिय क्रिकेटरले ‘व्यापारको एउटै मञ्च’ सेयर गरेको आरोप लगाउँदै छानबिन गर्न क्यानलाई ईमेल लेखे ।

अख्तरले क्रिकेटमा यस्ता नैतिक विषयमा प्रश्न उठाउनु उचित भएको भन्दै उनले ४८ घन्टाभित्र आफूले जवाफ चाहेको र जवाफ नआएमा उक्त ईमेल अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पठाउने धम्कीसमेत दिए ।

उक्त समाचार सार्वजनिक भएलगत्तै लामासहित कप्तान ज्ञानेन्द्र र पूर्वकप्तान पारसले संयुक्त विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरे ।

पूर्वकप्तान पारसले फेसबुकमा स्टाटस लेख्दै विज्ञप्ति सेयर गरेका थिए ।