राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।
ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले आज बिहीवार एक विज्ञप्ति निकाल्दै यो जानकारी दिएको हो । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएको छ ।
‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण यस संस्करणको ईपीएल नखेल्ने निर्णय गरेका छन्, यो निकै निराशाजनक हो’, विज्ञप्तिमा भनिएको छ ।
यसअघि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए । साथै पाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर वसन्त रेग्मीले पनि ईपीएल खेल्ने छैनन् ।
त्रिवि मैदानमा यही असोज ९ देखि २३ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
