महामारीका कारण बन्द भएका मलेसिया, कोरियालगायत गन्तव्यमा रोजगारी अझै सुरु भएका छैनन्। यस अवधिमा साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्सलगायत मुलुकमा केही नेपाली रोजगारीका लागि गए पनि त्यो सङ्ख्या निकै थोरै छ।
जसका कारण चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिटेन्स घटेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको बिहीबार प्रकाशित विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करीब १८ प्रतिशतले कमी हो। कोरोना महामारीपछि रेमिटेन्स करीब डेढ वर्ष निरन्तर बढेको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह २३ प्रतिशतले बढेको थियो। चालू वर्षको पहिलो महिनामा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।
उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिनेको सङ्ख्या वृद्धि भई १३ हजार ८ सय पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९.२ प्रतिशतले घटेको थियो।