असोज ९, २०७८ शनिबार

श्रीलङ्कामा शारीरिक रूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

राजधानी कोलम्बो, उत्तरमध्य प्रान्त र उत्तरपश्चिमी प्रान्तमा १२ देखि १९ वर्ष उमेर समूहका शारीरिक अशक्तता भएका बालबालिकालाई कोरोनाको खोप लगाउन सुरु गरिएको श्रीलङ्काको सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख  जनरल शाभेन्द्र सिल्भाका अनुसार डाक्टरको अनुगमनमा फाइजर कम्पनीले उत्पादन गरेको खोप बालबालिकालाई लगाउन सुरु गरिएको हो । बालबालिकाको लागि खोप अभियान अब देशभर नै सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभएको छ ।

श्रीलङ्कामा शारीरिक अपाङ्गता भएका अनुमानित ५० हजार  बालबालिकाहरू छन् । श्रीलङ्कामा राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत भने २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ। त्यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो ।

यस्तै एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुतनिक–भी लगाउन पनि अनुमति दिइएको छ । श्रीलङ्कामा  अहिलेसम्म कुल पाँच लाख १० हजार ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने  १२ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ ।