असोज १०, २०७८ आइतबार

एजेन्सी । ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टी मिस गर्दा म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । ओल्ड ट्राफोडमा भिल्लाले १२ वर्षपछि कुनै खेल जितेको हो ।

कोर्टने हाउसेले खेल सकिन दुई मिनेट बाँकी छँदा भिल्लालाई अग्रता दिलाएका थिए । तर, उनले आफ्नो बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले लाइफलाइन पाएको थियो । तर, फर्नान्डेजको प्रहार बारभन्दा माथि गएको थियो । योसँगै युनाइटेडको यो सिजन प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।


काराबाओ कपमा वेस्ट ह्यामसँग पराजित हुँदै बाहिरिएको युनाइटेडले आफ्नो घरेलु मैदानमा लगातार दुई खेलमा गोल गर्नबाट चुकेको छ । युनाइटेडले विपक्षीको पोष्टमा २८ वटा प्रहार गरे पनि गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो युनाइटेड फर्किएपछि गोल गर्न चुकेको यो पहिलो अवसर हो । ६ खेलबाट १३ अंकसहित युनाइटेड लिगको चौथो स्थानमा सीमित रहेको छ ।