असोज १०, २०७८ आइतबार

बर्खामा खेर जाने बिजुलीबाट नेपालमा प्रशस्त हाइड्रोजन उत्पादन गर्न सकिने सम्भावना काठमाडौं विश्वविद्यालयको प्रारम्भिक अध्ययनले देखाएको छ। तर राज्यले स्वदेशमै हाइड्रोजन उत्पादन गर्नेतर्फ अहिलेसम्म ध्यान दिएको छैन। नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले पनि रातको समयमा करिब चार सय मेगावाट बिजुली खेर जान्छ। 

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर बिराजसिंह थापा प्रारम्भिक अध्ययनले नेपालमा आर्थिक र प्राविधिक रूपले हाइड्रोजनको व्यावसायिक उत्पादन गर्न सकिने आधार देखिएको बताउँछन्।

सहायक प्राध्यापक थापा खेर जाने बिजुलीबाट हाइड्रोजन उत्पादन गरेर पेट्रोलियम पदार्थको आयात क्रमशः कम गर्दै जान सकिने बताउँछन्। ‘विदेशी मुलुकमा प्रतिकिलो हाइड्रोजन पाँच डलर पर्ने देखिन्छ। तर हामीले यहाँ प्रतिकिलो एक डलरमै उत्पादन गर्न सकिने देखिएको छ,’ उनले भने। अहिले बर्सेनि डेढ खर्ब रूपैयाँभन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भइरहेको छ। हाइड्रोजन उत्पादन गरेर त्यसलाई विस्थापित गर्न सके मुलुकलाई आत्मनिर्भरतातर्फ पनि डोर्‍याउन सकिने थापा बताउँछन्। सहायक प्राध्यापक थापाले हाइड्रोजन ग्यास घरायसी खाना पकाउन, सवारीसाधन चलाउन, रासायनिक मल उत्पादन लगायत प्रयोजनमा प्रयोग गर्न सकिने बताउँछन्। पछिल्लो समय नेपाल आयल निगम र केयूको सहायतामा हरित हाइड्रोजन ल्याब खोलेर हाइड्रोजनको अध्ययन/अनुसन्धानको काम भइरहेको छ।

यसरी निकालिन्छ हाइड्रोजन

सामान्यत: हाइड्रोजन पानीबाट बिजुली निकालेपछि, त्यो बिजुलीलाई टुक्र्याएर हाइड्रोजन उत्पादन गर्न सकिन्छ। एक किलो हाइड्रोजनबाट करिब ५० युनिट बिजुली उत्पादन गर्न सकिन्छ। हाइड्रोजन ब्याट्रीभन्दा चार सय गुणा हुलुका हुन्छ। एक किलो हाइड्रोजनले कम्तीमा ८० किलोमिटर सवारी साधन गुडाउन सकिने एक अध्ययनले देखाएको छ। नेपाल आयल निगमले आर्थिक वर्ष २०७७/७८ मा एक खर्ब ५५ अर्ब रूपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात गरेको छ। निगमले अघिल्लो आर्थिक वर्षभन्दा १० अर्ब रूपैयाँ बढीको आयात गरेको हो। नियमले गत आर्थिक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात गरेको थियो। त्यस्तै, पेट्रोल पाँच लाख ८७ हजार किलोमिटर, मट्टीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिटर आयात गरेको थियो। निगमले खाना पकाउन प्रयोग हुने एलपिजी ग्यास वर्षमा चार लाख ८५ हजार सात सय मेट्रिक टन आयात गर्छ। 

उपकुलपति प्राध्यापक थापा मुलुकको व्यापार घाटा न्यूनीकरण र हरितगृह प्रवद्र्धनको लागि पनि ग्रिन हाइड्रोजनमा जानुपर्ने बताउँछन्। हाइड्रोजन व्यवस्थित र सुरक्षित ढंगले प्रयोग गर्न सके मुलुकको व्यापार घाटा धेरै कम गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३९८ अर्ब ७१ करोड रूपैयाँ पुगेको छ। गत आवमा १५३९ अर्ब ८४ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ। निर्यात भने एक खर्ब ४१ अर्बमा सीमित छ। 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पेट्रोलियम पदार्थको विकल्पको रूपमा हाइड्रोजन उपभोग गर्न सकिने बताउँछन्। ‘नेपालमा हाइड्रोजन उत्पादनसम्बन्धी अहिलेसम्म कुनै पनि नीतिगत व्यवस्था छैन। उत्पादन, भण्डारण वितरण लगायत नमुना परियोजना सञ्चालन गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘हाइड्रोजन संवेदनशील विषय पनि भएकाले सावधानी भने अवश्य नै अपनाउनुपर्ने हुन्छ।’ पौडेल हाइड्रोजनसम्बन्धी कानुन ल्याएर अघि बढ्नुपर्ने बताउँछन्। ‘आयल निगमलाई भविष्यमा पनि चलायमान र सशक्त संस्थाकै रूपमा अघि बढाउने हो भने निकट भविष्यमै हाइड्रोजनमा जानुको विकल्प छैन,’ उनले भने, ‘पर्याप्त सुरक्षा मापदण्ड तयार पारेर हाइड्रोजनमा जाँदा मुलुककै लागि फाइदा हुने देखिन्छ।’ नागरिकले लेखेको छ ।