असोज १०, २०७८ आइतबार

 इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।

ब्रेन्टफोर्डको मैदानमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । तर खेलको ३१ औं मिनेटमा डिएगो जोटाले गोल गरी लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ५४ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनायो । खेलको ६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गरी ब्रेन्टफोर्डलाई २–२ को बराबरीमा पुर्याए । त्यस्तै खेलको ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल गरेपछि लिभरपुलले ३–२ को अग्रता बनायो ।

खेलको ८२ औं मिनेटमा ब्रेन्टफोर्डका योएनी विसाले गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् । बराबरीसँगै ६ खेलमा १४ अङ्क जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ब्रेन्टफोर्ड ९ अङ्कसहित नवौं स्थानमा छ ।