असोज १०, २०७८ आइतबार

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ । सारजाहमा भएको खेलमा पञ्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै रिद्धिमान साहले ३१ रन जोडे । पञ्जाबका रवि बिश्नोइले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । पञ्जाबका एडिन माक्रमले २७ तथा केएल राहुलले २१ रन बनाए । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । जितपछि पञ्जाबले ९ खेलमा १० अङ्क जोडेको छ ।

पञ्जाब अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ९ खेलमा २ अङ्क जोडेको हैदराबाद पुछारमा छ । आईपीएलमा हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्ली १० खेलमा १६ अङ्कका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्ग्सको ९ खेलमा १४ अङ्क छ ।