काठमाडौं ; त्रिभुवन आर्मी क्लबले काठमाडौ मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं मेयर ११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रन बनाए । त्यस्तै कप्तान विनोद भण्डारीले अविजित २० रन जोड्दा राजेश पुलामी ८ रनमा अविजित रहे । 
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो । काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए ।
सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराल १९, हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए । यता आर्मीका शाहब आलम ४ जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १-१ विकेट लिए ।