असोज १०, २०७८ आइतबार

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका वडा नं- २ का वडा सचिव प्रेमप्रकाश जोशीले आफूलाई धम्की आएको बताएका छन् । वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रका कार्यालय सहयोगी नरेन्द्रसिंह धामीले आफूलाई ८ गते राति करीब १२ बजेतिर धम्की दिएको जोशीले बताएका हुन् ।

जोशीका अनुसार धामीले लगातार तीन दिनदेखि धम्की दिइरहेका छन् । आफ्नो तलब र भत्ता बढाउनुपर्ने लगायतका विषय प्रवेश गराएर धामीले राति फोन गरेर धम्काउने गरेको जोशीले बताएका छन् । धामीले धम्की दिँदा भनेको उद्धृत गर्दै जोशीले नेपालमार्गसँग भने "हाम्रो तलब बढाउनुपर्‍यो, मेरो घरनजिकको बाटामा बजेट हाल्नुपर्यो, स्वास्थ्यमा बजेट कम किन हालेको हँ ? तँलाई देखाउँछु ।" यस्तै धामीले आफूलाई ग्याङ नै ल्याएर झलारीमा कुट्नु छ भनेर बोलाएको समेत जोशीले बताएका छन् ।

तर वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रका कार्यालय सहयोगी नरेन्द्रसिंह धामीसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्कमै आएका छैनन् ।

यसरी रातविरात धम्की आउन थालेपछि जोशी आइतबार नगरपालिका कार्यालयको शरणमा पुगेका छन् । जोशीले आफ्नो सुरक्षाको माग गर्दै कार्यालय प्रमुखलाई निवेदन दिएका छन् । उनले शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापासमक्ष निवेदन दिएका हुन् । यस विषयमा बुझ्न दुवै पक्षलाई बोलाएको थापाले बताएका छन् । आइतबार बोलाउँदा धामी नआएकाले अब दुवै पक्षलाई बसाएर मात्र प्रक्रिया अगाडि बढाइने थापाको भनाइ छ ।