असोज १०, २०७८ आइतबार

कञ्चनपुर । नेपाली काँग्रेस कृष्णपुर नगरपालिका वडा नं-२ का ३३ जना क्रियाशील सदस्यहरूले पार्टी परित्याग गरेका छन् । वि.पी. को राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्यायको मार्गदर्शनबाट विचलित भई व्यक्तिगत एवं गुटगत स्वार्थमा चुर्लुम्म डुबेको, आसेपासे र चाकडीबाजहरूलाई काखी च्याप्ने, ईमान्दार कर्तव्यनिष्ट कार्यकर्तालाई पाखा लगाउने कार्यमा पार्टी लागेकाले आफूहरूले पार्टी परित्याग गरेको उनीहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । 

३३ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ "भ्रष्टाचार, अनैतिकता र गैर राष्ट्रवादी छबी मौलाउँदै गर्दा वि.पी. को राष्ट्रवादी चरित्रमा दाग लागेकाले त्यस पार्टीमा बसिरहनुको औचित्य र नैतिकता समाप्त भएकाले काँग्रेस परित्याग गरेको घोषणा गर्दछौं ।"

पार्टी परित्याग गर्ने नेताहरू एउटै वडाका स्थानीय तहदेखि जिल्ला तहका रहेका छन् । यसले काँग्रेसमा ठूलै पहिरो गएको छ । पार्टीको महाधिवेशन भइरहेका बेला क्रियाशील सदस्यहरूको यस कदमलाई अर्थपूर्ण मानिएको छ । पार्टी परित्याग गर्ने ३३ जनामा बलराम पन्त, हरिलाल विष्ट, झुले लुहार, लक्ष्मीदत्त जोशी, यज्ञराज पन्त, कृष्णदत्त पन्त, कमलराज गिरी, दिपक सिंह, राजेन्द्रबहादुर सिंह, गोरखबहादुर रोकाया, प्रेमबहादुर सिंह, पूर्णबहादुर चन्द, नरेन्द्रप्रसाद जोशी, प्रेमदत्त भट्ट, नवीनचन्द्र राना, ध्रुव राना, धनबहदुर चौधरी, रामबहादुर चौधरी, अर्जुनबहादुर सिंह, कमलसिंह ठगुन्ना, डम्मरुदेवी ठगुन्ना, नारायण दत्त पन्त, देवराज भाट, खडक भारती, झलकबहादुर भण्डारी, हिरा कार्की, मोहन रोकाया, नवीन भण्डारी, मनोज थापा, टेकराज पन्त, जयराज भट्ट, गणेश बोहरा र भरत महता रहेका छन् ।