असोज ११, २०७८ सोमबार

 नेपाली कांग्रेसको वडा अधिवेशनमै पराजित भएपछि नेपाली कांग्रेसका नेता तथा संविधानसभाका  पूर्वसदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबाट दुईपटक संविधानसभाका सदस्य रहेका अमृतलाल राजवंशीलाई नेकपा एमालेमा स्वागत गरे।

संविधानसभाका सदस्य राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई ओली निवास बालकोटमा एक कार्यक्रमकाबीच एमालेमा प्रवेश गराएर एमाले अध्यक्ष ओलीले राजवंशीलाई स्वागत गरेका हुन्।

कांग्रेस नेता एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सुरज काफ्लेलगायतका झापाली नेताहरुको उपस्थिति रहेको थियो। एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको बताए।

नेपाली कांग्रेसको वडा अधिवेशनमा वडामै पराजित भएपछि राजवंशीले कांग्रेस परित्याग गरेका हुन्। झापाको बिर्तामोड नगरपालिका वार्ड नं ४ मा क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार राजवंशी पराजित भएका थिए।

उनी राजु राजवंशी ‘सन्तोष’संग पराजित भएका थिए।