असोज ११, २०७८ सोमबार

दार्चुला । दशैंतिहार नजिकिँदै गएपछि भारतबाट घर फर्किने नेपालीको सीमामा घुइँचो लाग्न थालेको छ । जिल्लाका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिए।

बुधबार पुलघाट नाका भएर घर फर्किएका बझाङको बुगल नगरपालिका–८ का प्रकाश बोहराका अनुसार खेतीको काम पनि आएको र दशैं पनि नजिकिन थालेकाले घर फर्किएको बताए । उनी पिथौरागढ डिडिहाटमा काम गर्न गएका थिए। यहाँका अधिकांश व्यक्ति भारतबाट दशैंतिहारमा घर फर्किने गर्छन्। अहिले गाउँमा धान काट्ने, मकै काट्ने, खर काट्नेलगायतको कामको चटारो हुने भएपछि घर फर्किने बढेका हुन्। अहिले दार्चुलाबाट धनगढी तथा महेन्द्रनगर जाने बस पनि खचाखच भरिन थालेका छन्। चाडपर्वका कारण अहिले बसहरूमा यात्रु भरिन थालेको सुदूरपश्चिम यातायात काउन्टरका पूर्णबहादुर बमले बताए।