असोज ११, २०७८ सोमबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्व आणविक हतियारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् ।

उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रूपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महासचिव गुटर्रेसले यो हतियार मानवता विरुद्धको र घातक भएकोले विश्वबाट नै उन्मूलन हुनुपर्नेमा जोड दिएका हुन् । तर अहिले पनि आणविक हतियारहरू विश्वमा चुनौतीका रूपमा रहेको उनले बताए ।

उनले गएको एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रूपमा रहेको पाइएको भए पनि यसको सङ्ख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनले बताए । त्यसैले यी सबै हतियारहरू विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघ समक्ष रहेको उनको भनाइ थियो । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारेका थिए । –सिन्ह्वा