सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गोरखापत्रको रिक्त कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसद मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
अन्नपूर्ण अनलाइन संस्करण र नेपाल समय डटकमका पूर्वसम्पादकसमेत रहेका सुवेदी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय छन्।
आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध तथा तालिमलगायतका प्राज्ञिक अभ्यासमा पनि सहभागी हुँदै आएका छन्।
पत्रकारिता क्षेत्रमा उनको व्यवसायिक योगदानको कदर गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विभिन्न नागरिक संस्थाहरूबाट सुवेदी पुरस्कृत पनि भएका छन्।