विशेष अदालतलले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । कर फर्स्योट आयोगमा रहेर भ्रष्टाचार गरेको आरोप लागेका शर्मा सोमबार अदालतमा हाजिर भएका थिए । उनलाई थुनछेक बहसपछि ५० लाख रुपैयाा धरौटी मागिएको हो । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भएको थियो।
उनी अदालतले मागेको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्। धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो। आयोगले समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो।