काठमाडौँ, २६ माघः नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
यस चरणमा सफल विद्यार्थीहरू राष्ट्रियस्तरको दोस्रो चरणका लागि छनोट भएका छन् । प्रथम चरणको परीक्षा शनिबार, १७ जनवरी २०२६ मा दिउँसो १२ बजेदेखि २ बजेसम्म एकैसाथ देशभरका विभिन्न प्रदेश राजधानी मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलालीमा सञ्चालन गरिएको थियो । मूल्याङ्कनमा ३२ वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरू दोस्रो चरणमा प्रवेश पाएको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
गत वर्षदेखि यो कार्यक्रमले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ । साथै मन्त्रालयसँग भएको सहमतिअनुसार सहआयोजकका रूपमा राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न आंशिक आर्थिक तथा आवश्यक प्राविधिक सहयोग रहनेछ ।
नासोका अनुसार यस वर्षको ओलम्पियाडमा सातै प्रदेशबाट उल्लेखनीय सहभागिता देखिएको छ । सामुदायिक, निजी, आवासीय तथा विशेष विद्यालयहरूबाट आएका विद्यार्थीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन् ।
कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूहमा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा रहे । मधेस प्रदेशमा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो भएका छन् ।
बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन् । सिनियर समूहमा काठमाडौँ मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शाश्वत रेग्मी, लुम्बिनी प्रदेशमा बिहान न्यौपाने, कर्णाली प्रदेशमा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेशमा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन् ।
नासोका अनुसार दोस्रो चरण (राष्ट्रियस्तर) को कार्यक्रम हाइब्रिड मोडलमा सञ्चालन हुनेछ । अधिकांश शैक्षिक सत्रहरू ‘अनलाइन’ माध्यमबाट हुने छन्भने आवश्यक परेमा विद्यार्थीहरूले प्रदेश समन्वयकर्तामार्फत केही गतिविधि सम्पन्न गर्नुपर्नेछ ।
छनोट भएका विद्यार्थीहरूलाई फेब्रुअरी १५, २०२६ भित्र इमेलमार्फत सहभागिता पुष्टि गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय चरणकोअन्तर्गत दोस्रो र तेस्रो चरण सञ्चालन हुनेछन् जसमा दोस्रो चरण घरै बसी दिन सकिनेछ भने तेस्रो चरणका लागि एकहप्ते बन्द शिविरका लागि काठमाडौँ आउनुपर्नेछ । उत्कृष्ट विद्यार्थीहरू छनोट गरी अन्तरराष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ ।