असोज १२, २०७८ मंगलबार

विभागीय टोली एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले काठमाण्डौमा भइरहेको छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत महिलातर्फको खेलमा जित निकालेका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि तीन–शून्यको सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई पनि तीन–शून्यको सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमन्ड सामु निकै कमजोर देखिएको एभरेस्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै न्यु डायमन्डले यस प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत आजकै अर्को खेलमा विभागीय टोली एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५–११,२५–७ र २५–६ को जित निकालेको हो । यससँगै एपीएफले पनि यस प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा भोलि बिहीवार महिलातर्फ ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दोस्रो खेल एभरेस्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।