असोज १३, २०७८ बुधबार

बेलायतमा पछिल्ला केही दिनयता इन्धनमा ठूलो सङ्कट उत्पन्न भएको छ । अधिकांश पेट्रोल स्टेसन इन्धन नभएर बन्द छन् भने बाँकी रहेकामा मानिसहरू घण्टौँ लाइन बस्न बाध्य छन् । मानिसहरू अनावश्यक रूपमा इन्धनका लागि आतङ्कित भएका कारण झन् समस्या उत्पन्न भएको सरकारको आरोप छ ।

बेलायतमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहे पनि इन्धन ढुवानी गर्ने चालकको अभावका कारण सङ्कट उत्पन्न भएको हो । कोरोना महामारीका कारण नयाँ चालक अनुमति पत्रमा भएको ढिलाइ तथा ब्रेक्जिटका कारण युरोपियन मुलुकका कामदार फिर्ता हुनु जस्ता कारणले अहिले करिब ९० हजार भन्दा बढी लरी ड्राइभरको अभाव भएको अधिकारीहरूले बताएका छन् ।

यस्तो सङ्कटका बीच सरकारले सेनाका करिब १५० वटा ट्याङ्कर तयारी अवस्थामा रहेको बताएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इन्धन समस्या चाँडै सामान्य हुने बताउँदै सबैलाई सामान्य अवस्थामा जस्तै  इन्धन भर्न र आ-आफ्नो व्यवसायमा फर्कन आग्रह गरेका छन् । सरकारले इन्धन अभाव नभएको भने पनि मानिसहरू दर्जनौँ पेट्रोल स्टेसन चहार्दै घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ ।  बेलायतमा अहिले सामान्य दिनको तुलनामा इन्धन भर्नेहरूको सङ्ख्या ४० प्रतिशत देखि पाँच सय प्रतिशतसम्म बढेको बताइएको छ । बेलायतमा रहेका करिब ८ हजार पेट्रोल स्टेसनहरूमध्ये झन्डै ६ हजार पेट्रोल स्टेसन इन्धन अभावका कारण पूर्ण रूपमा बन्द छन् ।

आगामी क्रिसमसमा मालसामानको अभाव हुन् नदिन १० हजार भन्दा बढी विदेशी लरी ड्राइभरलाई तीन महिने अस्थायी भिसा दिने  प्रक्रिया अघि बढेको छ । क्रिसमस इभ सम्मका लागि मात्र छोटो अवधिका लागि भिसा व्यवस्था गरिएकाले अत्यन्त छोटो अवधि भएको गुनासो पनि आएको छ । देशमा भएको सङ्कटलाई मध्यनजर गर्दै सरकारले लरी ड्राइभरका लागि अस्थायी भिसा प्रणाली लागू गर्ने भएको हो ।