फागुन २५, २०७७ मंगलबार

प्रचण्ड र माधवकुमार

सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आउने भएका छन्।

त्यस्तै नेकपाको एक खेमामा लागेका माधवकुमार नेपाल पुष्पकमल दाहालको साथ छाडेर एमालेमै फर्किने भएका छन्। नेपालसँगको राजनीतिक ‘डिभोर्स’सँगै दाहालले माओवादी केन्द्रकै नेतृत्व गर्ने भएका छन्।

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका दाहाल र नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुदाहुँदै भौतिक रूपमा भने डिभोर्स गरेर दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। 

एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। ऋषिराम कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगले सत्तारुढ दल नेकपालाई दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा अदालतले नेकपा कट्टेलकै भएको निर्णय सुनाउँदै पूर्ववत् पार्टीलाई ब्युँताइदिने आदेश गरेको थियो। अदालतले आयोगको एकतासम्बन्धी निर्णय बदरयोग्य रहेको र निर्णय बदरपश्चात् साबिकमा निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने निर्णय गरेको थियो।