नेपाली तेक्वान्दोका सफल खेलाडी दीपक विष्ट नेपाल ओलम्पियन्स संघको अध्यक्षमा निर्वाचित भएका छन्।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मा भएको निर्वाचनमा विष्टले अध्यक्षमा एनओसीका पूर्वउपाध्यक्षसमेत रहेका रविराज थापालाई ३७ मतान्तरले पराजित गरेका हुन् । कुल ४९ मत खस्दा तेक्वान्दोका विष्टले ४१ मत र पूर्वबक्सर रविराजले चार मत पाए ।
प्रत्यक्षततर्फ ३४ मत र इमेलबाट १५ मत खसेको थियो। ओलम्पियन्स संघको उपाध्यक्षमा प्रवीण तुलाधर विजयी भए। उनले रघुराज वन्तलाई पराजित गरे। प्रवीणले ४६ मत र रघुराजले एक मत पाए। दुई उपाध्यक्षमध्ये एक महिला अनिवार्य हुँदा तेक्वान्दोकी संगीना वैद्य निर्विरोध महिला उपाध्यक्षमा चयन भइन्।
त्यसै गरी, महासचिव, सचिव र कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भए। महासचिवमा एथलेटिक्सका राजेन्द्र भण्डारी, सचिवमा जुडोकी देवु थापा र कोषाध्यक्षमा डा. स्नेहा राणा निर्विरोध चयन भए।
ओलम्पियन संघको सदस्यमा तेक्वान्दोका रञ्जन श्रेष्ठ, स्किईका सफलराम श्रेष्ठ, एथलेटिक्सकी कान्छीमाया कोजु, राजकुमारी पाण्डे, प्रमिला रिजाल, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, विमला रानामगर र मुकुन्दहरि श्रेष्ठ निर्वाचित भएका छन्।
तीन महिलासहित ९ जना सदस्य पदका लागि १० ओलम्पियनको उम्मेदवारी परेको थियो। कमलबहादुर अधिकारीले भने पराजित भए। भारोत्तोलनका खेलाडी सुनीललाल जोशीको नेतृत्वमा एक दशकअघि गठित ओलम्पियन संघमा कुल ५९ सदस्य छन्।