असोज १४, २०७८ बिहिबार

विसं २०१८ सालको जनगणनामा वरिष्ठ पत्रकार भैरव रिसालको सहभागितामा एकपटक मात्र लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गरिएको तथ्याङ्क छ ।

राष्ट्रिय जनगणना २०७८ मा भारतले मिचेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा बसोबास गर्ने नागरिकको तथ्याङ्क सङ्कलनका लागि वैकल्पिक विधि अपनाउनेबारे छलफल सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिएका छन् । पाँच दिनअघि मात्र सरकारका सम्बन्धित निकायसँग ती क्षेत्रहरूमा जनगणना गर्ने वैकल्पिक विधिबारे छलफल भएको जनाइएको छ ।


ती क्षेत्रमा गणकको भौतिक उपस्थिति हुन नसकेपछि वैकल्पिक विधिबाट जनगणना गर्ने विभागको तयारी भइरहेको छ।

कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन गरिने जनगणना २०७८ मा यी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको जनगणना राष्ट्रिय केन्द्रीय तथ्याङ्क विभागले सङ्कलन गर्ने तय गरिएको विभागका सचिव केवलप्रसाद भण्डारीले बताए।