असोज १४, २०७८ बिहिबार

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएकाे घोषणा गरेका छन् ।

आइसिसीको निलम्बनबाट पूर्ण रूपमा फुकुवा भएपछि राजीनामा दिन सोचेको थिएँ,’ प्याकुरेलले भने, ‘योजनाअनुरूप नै राजीनामा दियौं। केही ढिला पनि भयो।’ 

वि.सं.२०७६ सालको असोजमा चतुरबहादुर चन्द नेतृत्वको प्यानलबाट उनी सचिवमा निर्वाचित भएका थिए। तर, प्रभावकारी भूमिका खेल्न असफल र क्यानमा समय दिन नसकेको भन्दै उनको तीव्र आलोचना पनि हुने गरेको थियो। 

श्रेष्ठ पनि चन्द समूहबाट नै मिङ्माडुन्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए। साढे तीन वर्ष लामो अन्तरराष्ट्रिय निलम्बन भोगेपछि दुई वर्षअगाडि क्यानको निर्वाचन भएको थियो। जहाँ, चतुरबहादुर चन्द अध्यक्षसहित उनको समूहबाट सबै विजयी भएका थिए। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले वि.सं.२०७२ सालमा क्यानलाई निलम्बन गर्दा चन्दका प्रमुख सारथिमध्ये एक प्याकुरेल पनि हुन्।