असोज १४, २०७८ बिहिबार

१४ असोज, कमाठमाडौं । खेलमा गोल गरिरहेका रोनाल्डोले प्रेमिका जर्जिना रोद्रिगेजसँग विवाह गर्लान् कि नगर्लान् भनेर अहिले उनका फ्यानहरूमा कौतुहलता बढेको छ । जर्जिना स्पेनिश मोडेल हुन् । हालै उनलाई रोनाल्डोसँग विहे गर्ने योजना बनाउनु भएको छ ? भनेर सोधिएको थियो ।
होस् भन्ने चाहन्छु तर यो कुरा ममाथि मात्रै मात्रै भर पर्दैन, जर्जिनाले हाँस्दै प्रश्नको उत्तर दिएकी थिइन् । यता रोनाल्डोले अहिलेसम्म विवाहको प्रस्ताव गरेका छैनन् । विवाह नभए तापनि दुबैजना म्यान्चेस्टरमा चार सन्तानसँगै खुसीसाथ बसिरहेका छन् ।

रोनाल्डोका चार सन्तान छन् । जर्जिना छोरी एनालाकी आमा हुन् । क्रिस्टियानो जुनियर उनका जेठा छोरा हुन् । २०१० मा जन्मिएका जुनियरकी आमाको नाम भने रोनाल्डोले अहिलेसम्म गोप्य नै राखेका छन् । त्यस्तै उनले सरोगेसीमार्फत् जुम्ल्याहा छोरी इभा र छोरा म्याटियोसमेत जन्माएका छन् ।

रिपोर्ट अनुसार जर्जिनाले रोनाल्डोको विवाह प्रस्ताव पर्खेर बसेकी छन् । तर रोनाल्डोको परिवार तगारोका रूपमा देखिएको बताइन्छ । विशेषगरी आमा मारिया डोलोरेसले आफ्नो छोराले जर्जिनासँग विवाह नगरोस् भन्ने चाहेकी छन् ।

मोडेल जर्जिनाले आफ्नो छोरोको सम्पत्ति देखेर विवाह गर्न चाहेको मारियाको बुझाइ रहेको रोनाल्डो निकट स्रोतले जनाएको छ । मारियाले हालै जर्जिनासँग आफ्नो सम्बन्ध राम्रो भएको र छोरालाई गरेको सपोर्टका लागि मोडेलको निकै प्रशंसा गर्ने बताएकी छन् । तर सम्बन्ध राम्रो हुँदाहुँदै पनि मारियाले जर्जिनालाई बुहारीका रूपमा भित्र्याउन चाहेकी छैनन् ।