एजेन्सी - भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएका छन् । चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ । तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ ।
बुधबार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियाङले गैरकानुनी ढङ्गले चीनको जमिनमा कब्जा जमाइरहेको भारतीय पक्षलाई आरोप लगाएकी थिइन् । भारतीय विदेश मन्त्रालयले भने चीनको दाबी र आरोपलाई खण्डन गर्दै चीनले सीमामा सैन्य तैनाथी बढाइरहेको आरोप लगाएको छ ।
‘हामीले एलएसीमा जुन तैनाथी गरेका छौँ, त्यो चीनको तयारीको जवाफ हो । यदि चीनको तर्फबाट केही हरकत हुन्छ भने भारतले पनि त्यसको जवाफ दिने अधिकार छ । हामी लद्दाखमा समाधान नभएका मुद्दा वार्ताको माध्यमबाट चीनले टुङ्गाओस् भन्ने चाहन्छौँ,’ बागचीले भने ।