दक्षिण एसियाली राष्ट्रहरूको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरु हुँदै छ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरुआत हुनेछ ।
उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । साफ च्याम्पियनसिपमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ। जसमा आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का छन्। भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले आन्तरिक विवादका कारण पछिल्लो समय अन्तरराष्ट्रिय फुटबल खेलेको छैन।
नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल र रोहित चन्द छन्। त्यसैगरी मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान र कमल थापा छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा र आसिस लामा छन् ।