असोज १५, २०७८ शुक्रबार

डा. केदार कार्की । मानव सभ्यताको सुरुवातसँग परिवार भन्ने शब्द पनि गाँसिएको छ । यसलाई स्वस्थ पारिवारिक जीवन एवं सुखद सामाजिक संरचनाको अङ्ग पनि मानिएको छ । यो भनाइ कति सान्दर्भिक होला !

एउटा संयुक्त परिवारले पूर्ण सामाजिक सुरक्षा त दिन्छ नै त्यसबाहेक सन्ततिको हेरचाह पनि घरका वृद्धहरू भन्दा अरूले गर्न सक्तैनन् ।

एउटा परिवार भन्नाले परम्परागत रूपमा बुवा, आमा, छोरा, बुहारी, दिदी, बहिनी, नाति, नातिनीलाई मानिन्छ । भनिन्छ, सुखद पारिवारिक सम्बन्धभन्दा उत्तम कुनै सम्बन्ध हुँदैन । यी सबै एउटा प्राकृतिक अलिखित सद्भावले बाँधिएका हुन्छन् । जीवनका दुःख र सुखका क्षणमा हौसला एवं सान्त्वना बाँड्न समाजशास्त्रीको आँकलनमा जस्तोसुकै परिवारिक द्वन्द्वको स्थितिमा पुरुषलाई आपतविपत परेका बेला उसको सहधर्मिणीले जतिको हेरविचार कुनै व्यावसायिक परिचारिका वा स्वास्थ्यकर्मीभन्दा बढी गर्दछिन् ।

एउटा औपचारिक शिक्षा प्राप्त गर्नबाट बञ्चित आमाले आफ्ना सन्ततिलाई जति माया र स्नेह कुनै आपतविपत एवं रोग व्याधीका बेला पुर्‍याउँछिन् त्यो कुनै व्यावसायिक नर्सिङ होमका दक्षले के पो पुर्‍याउन सक्लान् ! यो सामाजिक मनोविज्ञानका विज्ञको धारणमा पाइन्छ । यो हाम्रो पूर्वीय सामाजिक संरचनाको आधारभूत विशेषता पनि हो । तर पश्चिमी सभ्यताको प्रभावले हाम्रा प्रचलित पारिवारिक संस्था खलबलिन पुगेको छ । आज पारम्परिक पारिवारिक व्यवस्याभन्दा धन तथा वैभव प्रमुख मानिएको छ । सामाजिक अवधारणाले व्यक्तिलाई पारिवारिक दायराबाट टाढा जान बाध्य पारेको छ । सुखद भविष्यका लागि जस्को परिणति हिजाको त्यो संयुक्त पारिवारिक परिवेशको साटो छुट्टै अस्तित्वमा रमाउन चाहन्छ । संयुक्त पारिवारिक परिवेशमा रहँदा बाँधिनुपर्ने केही शर्त परम्पराबाट पन्छिन पारिवारिक विखण्डनलाई आज एउटा सुनौला अवसर ठान्छन्, खासगरी आजका शिक्षित एवं स्वतन्त्र महिलाहरू । तर यस प्रवृत्तिले ढिलो चाँडो भए पनि एउटा तितो सत्य ओकल्छ । 

आज प्रत्येक व्यक्ति चाहे ती पुरुष हुन् वा नारी अति महत्वाकांक्षी भई आत्मकेन्द्रित भएका छन् । परिवार अनि समाजलाई बिर्सिएका छन् । भनिन्छ, हिजाको दिन जब नारी एक कुशल गृहणीका रूपमा थिइन् त्यसबेला परिवार निश्चित थियो । तर आजको तीव्र गतिमा बढ्दो आकांक्षाले गर्दा एकल आयआर्जन एवं शिक्षाको सामान अवशरका कारण जब आत्मनिर्भर हुन आफ्नो कार्य क्षमता प्रदर्शन गर्न कार्य क्षेत्रमा ओर्लिँदा उनमा हिजाको परम्परागत गृहणीको भूमिका स्वीकार्य हुन सकेन । जस्ले गर्दा उनीहरू हिजाको त्यो अर्धाङ्गिनी, बुहारी अनि मातृत्वबाट पन्छिन प्रयासरत रहन्छिन् । जस्को मनोवैज्ञानिक असर सन्ततिले भोग्न परेको स्थिति आजको समाजमा देखा परेको छ ।

नत्र किन लागूपदार्थजन्य दुर्व्यशनीमा फसेकाहरू प्रायःजसो सम्भ्रान्त परिवारका हुने गर्दछ । उपभोक्तावादी एकांकीपनको अर्को पाटो परम्परागत पारिवारिक संरचनाको विघटन, पारिवारिक अन्तरद्वन्द्व, ह्रासोन्मुख आपसी सद्भाव, अनि परम्परागत सामाजिक मूल्य मान्यताको अवमूल्यनका रूपमा देखा परेका छन् ।

आधुनिक वैयक्तिक जीवनशैली, सामाजिक परिवेशले आज परिवारको साटो व्यक्ति आत्मकेन्द्रित हुन पुगेको छ । हिजाका पारिवारिक चाडपर्वमा जनाइने आत्मीयपन र सौहार्द आजको परिवेशमा आत्मकेन्द्रित हुन पुगेको छ । आज मानिस आफूबाहेक परिवारका अन्य सदस्यप्रति सकभर जिम्मेवार हुन नपरोस् भन्न रुचाउँछन् । यस परिप्रेक्षमा एकै परिवारका सदस्यहरू बीच आत्मीयको साटो एकांकीपन बढ्दै गएको छ । अर्कातर्फ परिवारमा बृद्धबृद्धाहरू उपेक्षित हुन पुगेका छन् । धन्न आजको सञ्चार माध्यमले गर्दा सँगै नबस्दा पनि सम्पर्क हुने गरेको छ । केही गरी परिवारका बृद्धबृद्धाहरू सँगै बसेका भए तिनीहरूप्रतिको व्यवहार साना नानीहरूको स्याहारसुसार गर्ने घाइ सुसारेसरह व्यवहार गरिनु आजको आधुनिक जीवनशैलीको एक अङ्ग मानिएको छ भने व्यर्थको आर्थिक बोझ पनि । तर यथार्थ यसभन्दा फरक छ, तिनको अनुभव, तिनको सहनशीलता अनि आफ्ना नाति-नातिनीप्रतिको वात्सल्यले तिनले आफ्ना कार्यक्षेत्रमा व्यस्त बाबुआमाभन्दा बढी माया एवं हेरचाह पुर्‍याउन सक्तछन् । यसै प्रसँगमा विगतका दशकमा हाम्रो समाजमा प्रौढ एवं बृद्धबृद्धाप्रति गरिएका व्यवहारमा क्रमशः हाम्रो सोचमा परिवर्तनका लक्षण देखा पर्न थालेको छ ।

जसरी ६०–७० को दशकमा पश्चिमी मुलुकमा यसै परिस्थितिबाट हिडेको थियो आज उनीहरू पनि संयुक्त परिवारतर्फ उन्मुख भएका छन् । हाम्रो आफ्नो परिवेश पनि त्यसतर्फ उन्मुख हुने तरखरमा छ । जसले गर्दा सर्वत्र विखण्डित हाम्रा सामाजिक परम्परागत पारिवारिक मूल्यमान्यता पुनर्जीवित हुने सम्भावनातर्फ इङ्गित गर्दछ । तर हाम्रो सामाजिक परिवेशमा तीव्र बेगमा बगेको आधुनिक आत्मकेन्द्रित महत्वाकांक्षी प्रतिस्पर्धाको तुलनामा यो क्रम त्यति चाँडै नै सफल हुन केही समय त लाग्ला नै तर यसबारे बेलैमा सोच्नु पर्ने बेला पो आइसक्यो कि : हाम्रा जेष्ठ नागरिकप्रति सम्मान गर्ने अनि जुन पिढीले आज हामीलाई यहाँ सम्म पुर्‍याउन मद्दत गर्‍यो !