काठमाण्डौ।
कोरोना महामारीका कारण थलिएको नेपाली चलचित्र क्षेत्र चलायमान भएसंगै धमाधम चलचित्रको रिलिज मिति तय हुन सुरु भैसकेको छ । ठुला ब्यानर र निर्माताका चलचित्रले आफ्नो रिलिज मिति तोक्न थालेका छन् ।
झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ए मेरो हजुर ४ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । भाद्र १८ गतेबाट यो चलचित्र रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ । आफ्नो नया पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति घोषणा गरेको हो । अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्र दर्शकका लागी निकै प्रतिक्षित रहेको छ । अनमोल र सुहानाले साथ काम गरेको यो दोश्रो चलचित्र हो । दर्शकले यी दुवैको केमेष्ट्रीलाई निकै रुचाएका छन् ।
यो संगै अर्को प्रतिक्षित चलचित्र आई एम् ट्वान्टी वान पनि भाद्र १८ गते रिलिज हुने तयारीमा रहेको चर्चा चुलिएको छ । रेनशा वान्तवा राईको निर्देशनमा बनेको यो चलचित्रको अफिसियल रिलिज मिति नयाँ बर्षको अवसरमा पारेर घोषणा गर्ने सोचमा निर्माण टिम रहेको छ । तर सिनेवृतमा भने यो चलचित्र भाद्र १८ गतेबाट रिलिज हुने चर्चा चुलिएको छ । धिरज मगर र जसिता गुरुङ्ग मुख्य भूमिकामा रहेको चलचित्र यो जोडीका कारण नै चर्चा र प्रतिक्षामा रहेको छ । अव एकै मितिमा यी दुई चलचित्र रिलिज भएमा सिनेमाघरमा रोमान्चकता भने पक्का थपिनेछ।