काठमाडौं, असोज १८ । पछिल्ला दिन तीव्र दरले ओरालो लाग्दै आएको नेप्से आज पनि ६ अङ्कले ऋणात्मक रहेर २५ सय ७० कायम भएर थामियो । कारोबार पनि साढे ३ अर्ब हाराहारीमै सीमित रह्यो ।
पछिल्ला दिन सबै समूह राताम्मे रहँदै आएका यस दिन ४ वटा समूह सकारात्मक रहे ।
लघुवित्त, अन्य, होटल तथा पर्यटन र जलविद्युत समूह हरियो रहे भने अरू रातो रहे । लघुवित्त समूहमा ७२ अङ्कको वृद्धि आयो । यस दिन विकास बैंक समूहमा सबैभन्दा उच्च ८६ अङ्कको गिरावट आउँदा जलविद्युत्, वित्त, व्यापार, उत्पादनमूलक र निर्जीवन बीमा समूह दोहोरो अङ्कले झर्दा अरू सामान्य अङ्कले रातो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ७६ लाख ५३ हजार कित्ता शेयर जम्मा ३ अर्ब ६२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ९ कम्पनीको मूल्य ओरालो लाग्दा ६९ कम्पनीको मूल्य बढ्यो भने ८ कम्पनीको स्थिर रहेको नेप्सले जनाएको छ ।