चैत २३, २०८२ सोमबार

गण्डकी, २३ चैतः कृषिप्रतिको अनिच्छासँगै रोजगारीको खोजीमा बढ्दो युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिका–३१ तालबँेसीका शिवराज सुवेदीको कृषि यात्रा भने अरुका लागि प्रेरणको स्रोत बनेको छ ।
    
उमेरले ६४ वर्ष पुग्नुुभएका सुवेदीले २०४३ सालदेखि निरन्तर रुपमा गर्नुभएको व्यवसायिक कृषिसँगै उहाँले अहिले भने ‘रिभोलुसन मल्टिप्रपोज अर्गानिक एग्रिकल्चर फार्म हाउस’ सञ्चालन गरिरहनुभएको छ । पशुपालनदेखि तरकारी तथा फलफूलखेतीका विविधता उहाँको फर्ममा देख्न सकिन्छ । आफूमा व्यावसायिक कृषिप्रतिको आकर्षण भने गाउँमा केयर नेपाल संस्था भित्रिएपछि भएको सुवेदीले  अनुभव सुनाउनुुभयो ।
    
“मैले २०४४ सालतिर सुरुमा केयर नेपाल संस्थाकै सहयोगमा भेटनरी तथा कृषि तालिम गरेको थिएँ”, उहाँले भन्नुुभयो, “त्यही सिकाइका जगमा व्यावसायिक पशुपालन तथा तरकारीखेती गर्न थालेको हुँ ।” यस आसापासको क्षेत्रमा नै पहिलोपटक २०४३ सालमा काउलीखेती गरेको अनुभव सुनाउँदै सुवेदीले उक्त समयमा काठमाडौँ स्थानीय जातको काउली लगाइएको जानकारी दिनुुभयो ।
    
त्यस समयमा बारीमा फलाएको काउली दुई घण्टासम्म डोकोमा बोकेर चिसापानीसम्म पुु¥याएको सुवेदीले अनुभव सुनाउनुुभयो । “त्यस समयमा काउली पाँच रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गर्दथ्यो”, उहाँले भन्नुुभयो, “काउलीको बीउ पाउन भने मुस्किल थियो, काठमाडौँबाट नै मगाउनुपथ्र्यो ।”
    
आफूले त्यस समयमा काठमाडौँसम्म चल्ने बसमा सम्पर्क गरी रु ५० को बीउ ल्याउन रु ५० भाडासमेत दिएर बीउ मगाएको सुवेदीले जानकारी दिनुुभयो । उहाँका अनुसार रोप्नका लागि तयार गरिने काउलीको बिरुवा त्यस समयमा १० पैसामा बिक्री हुने गर्दथ्यो । व्यवसायक कृषिमा युवाहरूलाई आकर्षित गर्न सुवेदीले तालिम लिनसक्ने हल बनाउनुभएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कृषकस्तरमा नवीनतम कृषि प्रविधिको प्रयोग अनुसन्धान तथा सिकाई केन्द्र स्थापना गर्न सहयोग कार्यक्रमअन्तर्गत अनुदान सहयोगमा तयार गरिएको हलमा एक साथ ४० जनासम्मले बसेर तालिम लिन सक्छन् । परियोजनाको अनुदान कार्यक्रमअन्तर्गत तालिम भवन, गाईभैँसी गोठ, बाख्राको खोर, ताराबारलगायतका संरचनाका लागि कूल रु ११ लाख ३१ हजार लागतमध्ये कृषकको सहभागिता रु तीन लाख २९ हजार ८३६ थियो भने कार्यालयको सहभागिता रु सात हजार ९७ हजार ५८ रहेको छ ।
    
सुवेदीले हाल पशुपालन, माछापालनसहित तरकारीखेती पनि गर्दै आउनुभएको छ । विगत नौ वर्षदेखि माछापालन गर्दै आउनुभएका उहाँले वार्षिक रु दुई लाख बराबरको माछा बिक्री गरिहनुभएको छ । खसी, दूध, माछा, तरकारी आदि बिक्रीबाट खर्च कटाएर रु पाँच÷छ लाखसम्म आम्दानी भइरहेको उहाँले अनुभव सुनाउनुुभयो ।
    
सुवेदीको फार्मममा तरबुजा, घिरौला, काँक्रा आदिको व्यावसायिक खेती भइरहेको छ । स्थानीयका लागि कुटानीपिसानीका साथै कफि प्रशोधन आदिसमेत सुविधा उपलब्ध गराउँदे आइएको छ । कृषिका बहुप्रयोग रुचाउनुुहुने सुवेदीको प्रयास अरुका लागि पनि प्रेरणा बन्न सक्ने पोखरा महानगरपासिलका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउनुहुन्छ ।
    
एकीकृत कृषिका विविध पक्षलाई एकै ठाउँमा अवलोकन गर्न पाइएने सुवेदीको क्रियाशीलताबाट अरुले पनि धेरै सिक्न सक्ने उहाँको भनाइ छ । कृषिमा धेरै सम्भावना रहेको बताउँदै उहाँले मेहनतसँगै निरन्तरको लगाव हुनसकेमा कृषिबाट राम्रै आयआर्जन गर्न सकिने प्रमुख कडरियाले बताउनुुभयो ।