असोज १९, २०७८ मंगलबार

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा सोमबार पक्राउ गरेको छ ।

सिआइबीका डिआइजी धीरजप्रताप सिंहका अनुसार तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो ।

सिआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

तामाङले सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको ४६ करोड ठगी गरेको आरोप छ । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले उनीसँग पटक–पटक बयान लिएको छ । बयानका क्रममा इच्छाराज तामाङले पेश गरेको कागजात सम्पत्ति शुद्धीकरणले विश्लेषण गरिरहेको छ ।