काठमाडौँको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको २२ तलाको ढलान सकिएपछि गजुर रहने गुम्बज ढलान आज सकिने भएको छ ।
धरहरा निर्माणको कार्य गर्दै आएको रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अबको केही महिनाभित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् ।
कोरोनाका कारण लकडाउनको समय र दसैँ–तिहारजस्ता चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको प्राधिकरणले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाभित्रै सक्न गर्न निर्देशन दिनु भएको थियो । प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको पुनर्निर्माण कार्यको एक महिना अघि निरीक्षण गर्नुभएको थियो । उहाँले निरिक्षणको समयमा आगामी महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०÷१० जना अट्ने क्षमताको लिफ्ट रहने जानकारी दिए। उनका अनुसार १८औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहनेछ।
यसबाहेक अहिले पानी सुकेको र निकास समेत बन्द भएको अवस्थामा रहेको ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने छ।
यसैगरी यसअघि टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिंक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत स्वरुमा शिशाले छोपेर एक सजीव भूकम्प संग्रहालयका रूपमा संरक्षण गरिने ज्ञवालीले जानकारी दिनुभयो । यसअघि करिब साढे चार रोपनीमा रहेको धरहरा परिसर अब ४२ रोपनीमा विस्तार हुँदा राजधानीले एक ऐतिहासिक खुल्ला स्थान पाउने उहाले बताउनुभयो । धरहरा परिसरको भूमिगत पार्किङस्थलमा चार सयवटा चारपांग्रे र सात सयवटा मोटरसाइकल अट्ने भएकोले राजधानीको पार्किङ समस्या धेरै हदसम्म सम्बोधन हुनेछ।