१९ असोज, काठमाडौं । संघीय संसद् सचिवालयका अनुसार मंगलबार सांसदहरूको बैंक खातामा असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन ।
गतवर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसवर्ष मन्त्रिपरिषद्ले सांसदहरूलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंँभत्ता नदिएको संसद् सचिवालयका प्रमुख लेखा अधिकृत वसन्त सिग्देलले जानकारी दिए ।
बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना छन् ।
संसद् सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पिएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा भएको छ ।