चन्द्रकला भण्डारी
झापा, २७ चैतः बुद्धशान्ति–३ स्थित मेची राजमार्गको चारआली–बुधवारे सडक किनारमा एउटा सानो भाडाको घर छ, जहाँ सञ्जयकुमार गुप्ता साइकल मर्मत गर्नुहुन्छ भने उहाँकी पत्नी अनिता चटपटे र किराना पसल चलाउनुहुन्छ । यही पसलको एउटा कुनामा बसेर २० वर्षीय भुवनकुमार गुप्ता भविष्यको सुन्दर तस्बिर कोरिरहनु भएको छ । जसको शरीरको छाला लाखौँमा देखापर्ने एउटा दुर्लभ वंशाणुगत रोगका कारण खस्रो र कत्लैकत्ला छ, तर मनमा भने ‘बैङ्कर’ बन्ने एउटा चम्किलो सपना फक्रिरहेको छ ।
भुवन ‘इक्थियोसिस’ नामक जन्मजात र दुर्लभ स्वास्थ्य समस्यासँग जुधिरहनु भएको छ । चिकित्सा विज्ञानका अनुसार यो त्यस्तो अवस्था हो, जहाँ शरीरले पुराना र मृत कोषिका समयमै फाल्न सक्दैन । नतिजास्वरूप ती कोषहरू छालाको सतहमा जम्मा भएर कत्ला बन्छन् । गर्मी याममा छाला फुटेर रगत बग्ने भएकाले भुवनका लागि यो समस्या झन् कष्टकर बन्छ ।
शरीरमा जतिसुकै पीडा र मनमा चिन्ता भए तापनि भुवनले पढाइलाई जहिल्यै प्राथमिकतामा राख्नुभयो । उहाँ हाल बुद्ध शान्तिस्थित रमेश सीता क्याम्पसमा स्नातक प्रथम वर्षमा वाणिज्यशास्त्र अध्ययन गरिरहनु भएको छ । उहाँ पढाइमा मात्र होइन, घरको जिम्मेवारीमा पनि उत्तिकै सचेत हुनुहुन्छ । बुबाको साइकल पसलमा टायर फेर्नेदेखि आमालाई चटपटे पसलमा सघाउनेसम्मका काम उहाँ मुस्कुराउँदै गर्नुहुन्छ । “मेरा लागि बुवाआमाले धेरै दुःख गर्नुभएको छ,” भुवन भन्नुहुन्छ, “मलाई आफ्नै खुट्टामा उभिएर देश र परिवारको सेवा गर्ने इच्छा छ । राम्रो पढेर बैङ्कर बन्न चाहन्छु, मेरो सपना भनेकै यही हो ।”
छालाको समस्या वंशाणुगत भएकाले यसको खास निदान छैन । भुवन भन्नुहुन्छ, “घाम र गर्मीमा गाह्रो हुन्छ । अझ रगत बग्यो भने धेरै दुख्छ । त्यस्तो अवस्थामा कलेज जान पनि सक्दिन ।” पसलको आम्दानी नै गुप्ता परिवारको गुजारा र सन्तानको शिक्षादीक्षाको आधार हो । भुवनका दुई जना भाइ छन् । माहिलो सुलोक गुप्ता १६ वर्षका र कान्छो सरोज १४ वर्षका छन् । तीनै जना दाजुभाइले विद्यालय र कलेजबाट फर्केर आएपछि आमाबुबालाई पसलमा काम सघाउँदै आएका छन् ।
‘हे ईश्वर दया राखी अझ दुःख दे’ भन्ने उक्ति झैं सञ्जयका तीन छोरामध्ये जेठो भुवन मात्र होइन, कान्छो सरोज पनि जन्मजात ‘इक्थियोसिस’ समस्याबाट प्रभावित छन् । भुवनको झैँ सरोजको पनि शरीरभरि छाला सुक्खा भएर कत्लैकत्ला बनेका छन् । सरोज घर नजिकैको नवकिरण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् छन् । माहिलो सुलोकमा भने यो समस्या छैन । उहाँ बुद्धआदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै हुनुहुन्छ । “रोग निको बनाउन नेपालको विर्तामोड, धरान, विराटनगरदेखि भारतको सिलिगुढी र दरभङ्गासम्मको अस्पताल धाइसक्यौँ,” बुबा सञ्जयकुमार गुप्ता भन्नुहुन्छ, “जहाँ देखाए पनि वंशाणुगत रोग हो, निको हुँदैन भन्नुहुन्छ । अहिले डाक्टरलाई देखाउन छाडेका छौँ ।”
भुवन र सरोजले खुट्टादेखि टाउकासम्म छाला सुख्खा भएर रगत आउने गरेकाले नरिवलको तेल दिनमा चार पटकसम्म घस्ने गरेका छन् । छालाको समस्याका कारण दुबै जनाको शरीरबाट पसिना निस्कँदैन । चिकित्सकहरुले घाममा नबस्न र धेरै पीडा भयो भने पानीले छाला भिजाउन सुझाएको भुवनले सुनाउनुभयो । शरीरभरि छालामा समस्या देखा परेता पनि भुवन र सरोजको शरीरका अन्य सबै अङ्गहरु स्वस्थ छन् ।
पढाइमा तेजिलो र व्यवहारमा मिजासिला दाजुभाइले सरकार र विद्यालयबाट भने कुनै आर्थिक सहयोग पाएका छैनन् । भुवनले पढेवापत सीता रमेश क्याम्पसमा नियमित शिक्षणलगायतका शुल्क बुझाइरहेका छन् । बुद्धशान्ति गाउँपालिकाले समेत उनीहरुलाई अपाङ्गताको प्रमाणपत्र दिएको छैन । “हातखुट्टा, आँखा र दिमाग सबै राम्रो छ, अपाङ्गताको प्रमाणपत्र दिन मिल्दैन भनेपछि हामीले पनि जिद्दी गरेनौँ,” आमा अनिता गुप्ताले भन्नुभयो, “जे जस्तो दुःख गरेर भए तापनि हामीले छोराहरुको पढाइ र खुसीका लागि कुनै कमी हुन दिएका छैनौँ । स्कुल र कलेजको शुल्क पनि तिरिरहेका छौँ ।”
भुवनले झापाको चर्को घाम र गर्मीका कारण हिँड्डुल र पढाइमा प्रभाव परिरहेको बताउनुभयो । अहिलेसम्म बुबाआमाको कमाईमा पढिरहेको भए तापनि अब चाहिँ कमाउँदै पढ्दै गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको उहाँले बताउनुभयो । “घाममा बाहिर निस्कनु नपर्ने र तापक्रम न्यून भइरहने कोठाभित्र बसेर काम गर्न सकिने लेखापालसम्बन्धी जागिरको खोजीमा छु,” आफ्नै खुट्टामा उभिने इच्छा व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, “बुबाआमाले जति पढे पनि चिन्ता गर्नुपर्दैन भन्नुहुन्छ । तर मेरो मनले मानिरहेको छैन, आफैँले जागिर खाएर आत्मनिर्भर बन्ने इच्छा छ ।”
छोराको जागिर खाने इच्छा देखेर बुबा सञ्जयले आफ्ना चिनेजानेका साथीहरुलाई जागिरको खोजीका लागि सघाइदिन आग्रह गरिरहेको बताउनुभयो । रोजगारदाताले छालाको शारीरिक समस्या देखेर जागिर दिन आनाकानी गर्लान् कि भन्ने चिन्ता भुवनका बुबाआमालाई छ । तर, शैक्षिक योग्यता र बौद्धिक क्षमताकै आधारमा प्रतिस्पर्धा गरेर जागिर खान आफू तयार रहेको भुवनले बताउनुभयो । उहाँले आफूसँग भेट हुने अग्रजहरुलाई कोठाभित्र काम हुने जागिर खाने इच्छा सुनाउने गर्नु भएको छ । लेखापालको जागिर खुलेको भेटेमा अब दरखास्त हाल्ने सोचाइमा रहेको भुवनले बताउनुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने इच्छा भुवनले व्यक्त गर्नुभएको छ । गत फागुन २१ गते भएको आमचुनाव अघि झापाबाट ताप्लेजुङ जाने क्रममा शाहले आफ्नो पसलमा आएर रु एक हजार ५०० को फलफूलका सामान किनेर लैजानु भएको दृश्य अहिले पनि भुवनको स्मरणमा ताजै छ । “माघ ५ गतेको दिन थियो, उहाँहरु पहाड जाँदै हुनुहुन्थ्यो,” प्रधानमन्त्री हुनुअघि शाह आफ्नो पसलमा आउनु भएको घटनाको सुखद स्मरण गर्दै भुवन भन्नुहुन्छ– “एउटा गाडी हाम्रो पसल अगाडि आएर रोकियो । बुबाआमा र भाइहरुसँग म पनि पसलमै थिएँ । सरासर पसलमा आएर सामान किन्नुभयो । नमस्कार भन्न चाहिँ भ्यायौँ । बालेन बालेन भनेर पसलमा सामान किन्न आउनुभएको अरू मानिसले पनि भन्न थाल्नुभयो । एक÷दुई वटा फोटो चाहिँ मोबाइलमा खिच्न भ्यायौँ । हतारमा हुनुहुन्थ्यो क्यार, उहाँ गइहाल्नु भयो ।”
संयोगले आफ्नै पसलमा सामान किन्न आएको व्यक्ति आज मुलुकको प्रधानमन्त्री भएको खबरले उहाँ निकै हर्षित हुनुहुन्छ । पसलमा आउनुभएको बेला पनि प्रधानमन्त्री वालेन्द्र शाहसँग अन्तरङ्ग कुराकानी गर्ने समय नपाएकामा भने भुवनलाई पछुतो छ । त्यहीकारण फेरि एकपल्ट भेट्ने इच्छा रहेको र त्यतिबेला आफ्नो समस्या बताउनेछु उहाँले भन्नुभयो ।